नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरूलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् । उनले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरूको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाए ।
उनले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने गरी शिक्षा विधेयक ल्याउनुपर्ने बताए । उनले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गरे ।
उनले शिक्षकहरू चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाए ।
उनले भने, ‘यो बजेट अधिवेशन भए पनि धेरै विधेयकहरू यहाँ थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरूलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिने उद्देश्यले शिक्षकहरू आन्दोलनको मोर्चामा छन् । आज २४ दिन भइसक्यो । २४ दिनसम्म पनि सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ बहिरो जस्तै गरेर यो सरकारले यो आन्दोलनलाई तुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरू सुनिएको छैन । शिक्षकहरू तपाई हामी सबैका गुरुहरू अहिले पनि त्यो चर्को गर्मीमा अदकत्रामा टाँसिएर आन्दोलनमा छन् । म एक पटक यो सरकारको ध्यानाकर्षण गराउन चाहन्छु यो भविष्यका कर्णधार भाइबहिनीहरूको पढाइ अध्ययनलाई अलपत्र पार्ने गरी अन्योलग्रस्त पार्ने गरी यो आन्दोलनप्रति वेवास्ता गर्ने होइन । वार्ता गरेर छलफल गरेर यो समस्याको छिटोभन्दा छिटो समाधान गर्नुपर्छ । अहिले सबैभन्दा ठुलो मागको रुपमा अगाडि सारिएको यो माग नगरेपनि पुरा गर्नुपर्ने हो विद्यालय शिक्षा विधेयक अहिले यहाँ छलफलमा छ, त्यो छिटो पारित हुनुपर्यो । पारित पनि अग्रगामी एजेण्डासहित, विषय वस्तुसहित गुणस्तरीय शिक्षा हामीले कसरी ग्यारेन्टी गर्न सक्छौँ, यसलाई विद्यार्थी मैत्री कसरी बनाउन सक्छौँ । र हिजो सम्झौता भएका र अहिलेका सडकमा माग गरिएका मुद्दा कसरी सम्बोधन गर्न सक्छौँ छिटो भन्दा छिटो विद्यालय शिक्षा विधेयक ल्याइनु पर्छ । फास्ट ट्रयाकबाट ल्याइनु पर्छ र शिक्षकहरूलाई आफ्नो क्षेत्रमा फर्किने अवस्था बनाउनु पर्दछ । विद्यार्थीहरूको पढाइ सहज बन्ने स्थिति बनाइनु पर्छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताए । उनले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए ।